15 March 2011

जेलमा जाकिनु पर्नेहरु

2 Comments/ प्रतिक्रिया


नेपाल वायु सेवा निगम अर्थात् नेपालको राष्ट्रिय ध्वाजावाहक वायु सेवा निगम । त्यतिले मात्र परिचय खुल्दैन । जुन व्यवस्था आयो त्यसैको कमाई खाने अड्डा, जसको सरकार बन्यो उसैको रजाई गर्ने थलो बन्दै आएको छ नेवानि । पञ्चायतमा राजाका आसेपासेहरुले लुटे, बहुदलमा दलका नेताहरुले पालैपालो लुछे । अहिले त थला परेको छ नेवानि । पहिला पहिला जहाज किन्ने र भाडामा लिने नाममा लुटिन्थ्यो । तर लुट्नलाई केही बाँकी छैन, त्यसैले बचेखुचेका इञ्जिन बनाउन पनि कमिशनको खेल हुन थालेको छ । यही अवस्था हो भने नेवानि केही समयमै बन्द हुनेछ । लाग्छ नेवानि बन्दै भए पनि कमिशनको खेल रोकिनेछैन, जहाजका अस्थिपञ्जर कवाडीमा बेच्न पनि मारामार हुनेछ ।

नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारलाई गत आइतबार जेल चलान गरियो । विमान खरिदका लागि फ्रान्सेली कम्पनीलाई कंसाकारले निगम सञ्चालक समितिको निर्णयविना नै डेढ वर्ष अगाडि ५ करोड ७३ लाख ९५ हजार रुपैयाँ बैना रकम पठाएका थिए । ठूलो भाग खान खोजेका थिए, कंसाकार । तर जेलमा जाकिए । कमिसनको चक्करमा लाग्नेहरु जेलमा जाकिनु नराम्रो होइन । तर जेलमा जाकिनुपर्नेहरु अरु धेरै छन् । किनभने निगममा काण्ड मच्चाउनेहरु कंसाकार मात्र होइनन् ।
धमिजा काण्ड, चेज एअर काण्ड, चाइना साउथवेष्ट काण्ड र लाउडा काण्ड । काण्डैकाण्डको अखडा बन्यो नेपाल वायु सेवा निगम । फरकफरक राजनीतिक पृष्ठभूमिका फरकफरक नेताहरुले नेवानिमा धुलो उडाए । अरुले भ्रष्टाचार गर्दा संसद्मा कुर्लनेहरु त आफ्नो पालो आउनासाथ झन् तीव्र गतिमा लुट्न आतुर भए । जनताले श्राप दिए, तर लुट्नेहरुले बेपरबाह लुटे, लुटिरहे ।
विमान खरिद गर्दा होस् या भाडामा लिँदा, राज्यका शक्तिशाली व्यक्ति र परिवारले कमिशन लिएरै छाड्छन् । उदाहरण छन्जहाज खरिद काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइनासाउथ वेष्ट काण्ड, लाउडा काण्ड र यस्ता धेरैधेरै काण्ड । कतिसम्म भने, निगमको व्यस्त व्यावसायिक जहाज लिएर हप्तौंसम्म शयर गर्न पनि हिंडे राज्यका हर्ताकर्ताहरु ।
२००८ सालमा जामा एयर नामक भारतीय कम्पनीले काठमाडांैको सानो गौचरनबाट भारतको पटनाका लागि नेपालबाट पहिलो उडान भरेको थियो । त्यसको ठीक ६ वर्षपछि अर्थात् २०१४ साल असार १७ गते राष्ट्रिय ध्वाजावाहकको रुपमा नेपाल वायु सेवा निगमले उडान सुरु ग¥यो । निगम सुरुदेखि नै सरकारी स्वामित्वमा छ । सुरुवातताका आन्तरिक र बाह्य सेवाका लागि निगमसँग आठ प्रकारका जहाज थिए । तीमध्ये डगलस घ भनिने २८ सिटको डकोटाविमान थियो । नेवानिका लागि पहिलो उडान भर्ने डकोटा विमान पछि विस्थापित भयो । १२ सिटको फङ्स हार्भेस्टार विमान पनि निगमले सेवामा लगायो । निगमसँग यस्ता दुई विमान थिए । छोटो समयको उडानपछि यी विमान पनि विस्थापित भए । पिलाटस पोर्टर भनिने पीसीविमान पनि विस्थापित भइसकेको छ । एउटा मात्र इन्जिन भएका यी विमानमा ६ सिट हुन्थे । अर्को फोकर फ्रेन्डसिप भनिने एफ२७विमान पनि आन्तरिक र बाह्य दुवै उडानमा प्रयोग गरियो । यो विमान ४४ सिटको थियो । ४४ सिटको एभ्रो विमान पनि विस्थापित भइसकेको छ । ३७ वर्ष अघि ट्वीनअटर विमान नेपालमा भित्रिए ।
२०२८ सालमा निगमले बोइङ ७२७ खरिद गरेपछि नेपाल जेट उडानमा प्रवेश ग¥यो । निगमसँग १ सय २३ सिट क्षमताका यस्ता विमान दुईवटा थिए । त्यसपछि १९० सीट क्षमताको बोइङ ७५७ निगम पनि ल्यायो निगमले । बोइङ ७५७ पनि दुई वटा थिए । यसरी चार वटा जेट विमानले नेपाललाई विश्वका थुप्रै शहरसँग जोडेका थिए ।
तर, बल्लबल्ल बामे सर्दै गरेको नेपाल वायु सेवा निगम २०४६ सालपछि स्वदेशी र विदेशी हवाई माफियाको चङ्गुलमा फस्यो । २०५० सालसम्म नेपाल वायु सेवा निगमको अवस्था राम्रै थियो । तर, जतिबेला भएका २ वटा बोइङ अनेक तानाबाना बुनेर बेचियो, त्यसपछि सुरु भयो निगमको अधोगति ।
आफ्ना विमान बेचेर विदेशी विमान भाडामा लिने र कमिसन खाने फोहोरी राजनीति सुरु भयो नेपाल वायु सेवा निगममा । त्यसपछि निगम ठूलाबडाका लागि सुनको फूल पार्ने कुखुरी बन्न थाल्यो ।
कोको छन् लुटमा संलग्न प्रतिष्ठित घरानियाहरु ?
निगमको यो दुरवस्था नखोतलेकै ठीक छ, खोतल्यो भने प्रतिष्ठित राजनीतिक घरानाको नाम जोडिइहाल्छ । निगमको भ्रष्टाचारमा पटकपटक नाम जोडिन्छ कोइराला परिवारको, त्यसमा पनि मुख्यतः सुजाता कोइरालाको ।
बहुदल पुनबर्हालीपछि सुजाताका पिता गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री भए । जतिपटक प्रधानमन्त्री भए, उतिपटक राज्यसंयन्त्रमा छोरी सुजाताको बोलवाला चल्यो । गिरिजाप्रसाद कोइराला २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेपछि कोइराला परिवारका थुप्रै नातेदार र साथीहरु स्वदेश फर्कने लहरै चल्यो । जोजो फर्किए, उनीहरुले पाए राज्यका महत्वपूर्ण निकायमा राजनीतिक नियुक्ति । सुजाताले सुरुमै खुलेर नियुक्ति त लिइनन्, तर नियुक्ति लिएकोभन्दा खतरनाक खेल खेलिन् ।
बिहेबारी गरी जर्मन पुगेकी एक्ली छोरी सुजाता कोइराला पनि बाबु प्रधानमन्त्री बनेपछि फर्किइन्, यतै बस्नेगरी । नोना कोइरालाका अमेरिका बस्ने छोरा निरञ्जन र डा. शेखर मात्र होइन, निरञ्जनका वकिल साथी प्रभाकर अधिकारी र शेखरका साथी डा. रामानन्द सिंह, कोइरालाका भाञ्जा शैलेश उपाध्यायसहितको ठूलो समूह नेपाल फर्कियो ।
विदेशमा जागिर मात्र खाएर बसेका उनीहरुले नेपालमा भने धमाधम राजनीतिक नियुक्ति पाउन थाले । नोनाका छोरा निरञ्जन पर्यटन मन्त्रालयका सल्लाहकार नियुक्त भए । उता शेखरका साथी रामानन्द सिंहले नारायण सिंह पुनलगायतसँग मिलेर डाइनास्टिक एभिएसन नामको निजी हवाई कम्पनी दर्ता गरे । त्यसबेला नेपाल र जर्मनीबीच लुफथान्सा एयरलाइन्स चल्थ्यो । लुफथान्सा नेपाललाई युरोपसँग जोड्ने एक मात्र विदेशी विमानसेवा थियो । त्यतिखेर नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानको जिम्मा लुफथान्सालाई दिने प्रस्ताव आयो । त्यसको योजनाकार थिइन्, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइराला । यही बिन्दुबाट धमिजा काण्डको शिलान्यास भएको हो ।
सुजाता नेपाल आएलगत्तै २०४९ साल चैत १८ गते शानेवानिको युरोप क्षेत्रको जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गर्ने निर्णय भयो । युरोपको एजेण्ट कसलाई बनाउने ? यो निर्णय त पहिले नै भइसकेको थियो । सुजाता र उनका पति जर्मन नागरिक नोबर्टकोे सिफारिसअनुसार भारतीय मूलका बेलायती नागरिक दिनेश धमिजाको फेयर कम्पनीलाई जीएसए बनाइयो । धमिजा यसअघि नै नेवानिका लागि बेलायतका एजेन्ट थिए । सुजाताको सहयोगले युरोपभरिको जिम्मा पाए ।
सेल्स एजेन्टलाई ९ प्रतिशत कमिशन दिने विश्वव्यापी प्रचलन थियो । बाबु प्रधानमन्त्री भएको मौकामा सुजाताले धमिजालाई अन्तर्राष्ट्रिय प्रचलनभन्दा बढी कमिशन दिलाइन् । कति बढी दिलाइन् होला ? तपाईं अनुमान गर्नोस्, दोब्बर ? तपाईंको अनुमान मिलेन । धमिजाले चार गुणा बढी अर्थात् ३८ प्रतिशत कमिशन पाए । यसरी एजेन्टलाई ९ प्रतिशत कमिशन दिने विश्वव्यापी चलन हुँदाहुँदै शानेवानिले दियो ३८ प्रतिशत । चार गुना बढी कमिशन धमिजा एक्लैले पक्कै खाएनन्, सुजाताले पनि खाइन् । यसबाट निगमलाई ३९ करोड ५० लाख रुपैयाँ नोक्सानी भयो । हो, ३९ करोड ५० लाख । जनताको बलिदानीपछि बहुदल पुनस्र्थापना भयो, बहुदल स्थापनापछि निर्वाचित पहिलो प्रधानमन्त्रीको प्रभाव प्रयोग गरेर शानेवानिलाई ३९ करोड ५० लाख घाटामा पारियो । यो कुनै नेताले चोकमा उभिएर लगाएको आरोप होइन, २०५८ सालमा दामोदर न्यौपानेको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदनमा प्रष्टै उल्लेख छ ।
तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका अनुसार धमिजालाई युरोपको एजेन्ट नियुक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नै बैठक भएको थियो । निगमको एजेण्ट नियुक्त गर्न त निगमकै कार्यालयमा बैठक हुनुपर्ने हो, तर बैठक भयो बालुवाटारमा ।  बैठकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि सहभागी थिए ।
निगमको एउटा एजेण्ट नियुक्त गर्न बसेको बैठकमा देशमा प्रधानमन्त्री बस्छन् । अब अनुमान गर्नोस्, खेल कति ठूलो हुँदोरहेछ ? बैठकमा तत्कालीन प्रधानमन्त्री कोइराला, पयर्टनमन्त्री रामहरि जोशी, निगमका कार्यकारी अध्यक्ष भुवनेश्वरप्रसाद दैवज्ञ, महाप्रबन्धक प्रदीपराज पाण्डे र स्वयम् दिनेश धमिजा पनि सहभागी थिए । त्यही बैठकले धमिजालाई अत्यधिक अधिकारसहित सेल्स एजेन्टको जिम्मा दिएको थियो ।
धमिजाको काम तत्काल गरिदिनु भनेर प्रधानमन्त्री कोइरालाले आदेश दिए, मन्त्री जोशीले शिरोपर गरे । यो त कास्टिङ मात्रै थियो, कथाको पूर्ण अंश त लेखिनै बाँकी थियो । कथा अघि बढ्दै जाँदा बोइङ ७२७ बिक्री काण्ड र लाउडा काण्ड पनि भए । यी सबैमा सुजाता कोइरालाको नाम जोडिएको छ । एउटा कारभन्दा सस्तो मूल्यमा बेचियो शानेवानिको जहाज । धमिजासँग सम्झौता भएको करिब एक वर्षपछि निगमका दुईवटा बोइङ ७२७ बिक्री गरियो । त्यो पनि कौडीको भाउमा । ती दुई विमान बिक्री गरेदेखि नै निगमको अधोगति सुरु भएको हो । अरु कम्पनीले सम्पत्ति जोड्दै जान्छन्, तर शानेवानिका हाकिम र हाम्रा नेताहरु मिलेर सम्पत्ति बिक्री गर्न थाले ।
शानेवानिसँग जम्मा चार वटा जेट विमान थिए, दुई वटा बेचियो । दुनियाभरको आकाशमा उडिरहेको, पैसा कमाइरहेको विमान बिक्री गर्ने निर्णयमा पनि तत्कालीन प्रधानमन्त्री कोइराला र छोरी सुजाताकै नाम जोडियो ।
चलिरहेको एउटा जेट विमान बनाउन भनेर जर्मनी लगियो । तर यो कामै लाग्दैन भनेर ६० हजार डलरमा बेचियो । ६० हजार डलर अर्थात् ४३ लाख २० हजार नेपाली रुपैयाँमा । ४३ लाखमा त गतिलो कार पनि आउँदैन, तर त्यही भाउमा जेट विमान बेचियो । टाढा होइन, एकपटक हङकङ गएर फर्कंदा एउटा जेटले ६० लाख कमाउँछ, तर सिंगो जहाज बेचियो मात्र ४३ लाखमा । हो केवल ४३ लाखमा ।  सुन्दा पनि रिंगटा लागेर आउँछ, तर सत्य यही हो ।
अर्को जहाज एउटा अफ्रिकी कम्पनीलाई बेचियो । त्यो नयाँ जहाज मजासँग उडिरहेको थियो । त्यो कुखुरीले राज्यका लागि फूल पारिरहेको थियो । तर कोइराला सरकारले फूल होइन, सिंगै कुखुरा नै काट्यो । स्वार्थ पूरा गर्न, फगत व्यक्तिगत स्वार्थ पूरा गर्न । त्यो ज्यानदार जहाज अहिले पनि उडिरहेको छ र अफ्रिकी कम्पनीका लागि पैसा कमाइरहेको छ । तर हाम्रा नेताले जहाज बेचेर आफ्नो खल्ती भरे, जनताको सम्पत्ति शानेवानिलाई ध्वस्तप्राय बनाए ।
निमगले आफूसँग भएका जहाज बिक्री गरेर चुप लागेन । नयाँ जहाज चाहियो भनेर किन्ने योजना बन्यो । भएको छोरो मारेर नयाँ छोराको आश । तर बेचेर आएको कमिशनले पुगेन, त्यसैले नयाँ जहाज किन्ने अभ्यास सुरु भयो । पहिले जहाज नै किन्ने भनियो, पछि भाडामा ल्याएर चलाउन थालियो ।
धमिजा र जहाज बिक्री काण्डपछि सुजाता कोइराला सायद अर्को काण्डको डिजाइन गर्दै थिइन् । तर तत्काल पूरा भएन किनकि २०५१ सालको चुनावमा कांग्रेसले चुनाव हा¥यो । गिरिजाप्रसाद कोइराला प्रतिपक्षमा बसे, छोरी सुजाताको हालिमुहाली स्थगित भयो । हो, उनको योजना पूर्णतः रोकिएको थिएन, स्थगित मात्र भएको थियो । जब २०५६ सालको चुनावपछि प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई ६ महिनामै हटाएर कोइराला बालुवाटार पुगे । २०५६ चैत ८ गते नयाँ सरकार बन्यो, त्यही दिनदेखि सुजाता नयाँ शक्तिकेन्द्रका रुपमा उदाइन् । कसलाई मन्त्री बनाउने, कसलाई फाल्ने ? निर्णयमा सुजाताको प्रत्यक्ष हात हुन्थ्यो । त्यसैले भनिन्छ, त्यतिबेला तारणीदत्त चटौतलाई पर्यटनमन्त्री बनाउन पनि सुजाताकै रुचि थियो । चटौत अगाडि देखिए, सुजाता पछाडि उभिइन् । बीचमा थिए शानेवानिका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक हरिभक्त श्रेष्ठ ।
त्यतिबेला शानेवानिका आफ्नै दुई वटा र भाडाको एउटा विमानले उडान भरिरहेका थिए । तर सरकारले आकस्मिक निर्णय ग¥यो, जहाज अर्को पनि चाहियो । थप निर्णय भयो, अष्ट्रियाको लाउडा एयर कम्पनीसँग विमान भाडामा लिने । २०५७ साल असोज १६ गते पर्यटन मन्त्रालयमा बसेको तत्कालीन शानेवानी सञ्चालक समितिको बैठकले लाउडा एयरबाट विमान भाडामा लिने निर्णय ग¥यो । शानेवानिसँग तीन वटा जहाज चालु भइरहेकै बेला विनायोजना लाउडाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । त्यसपछि भयो निकै ठूलो विवाद ।
लाउडा विमान भाडामा लिने सम्झौता हुनुअघि सुजाता र चटौतकी पत्नीसँगै सिंगापुर गएका थिए । कञ्चनपुरका विपन्न जनताको भोट जितेर सांसद र मन्त्री बनेका चटौतकी पत्नीलाई सपिङ गर्न सिंगापुर जानुपर्ने ? कसको पैसाले ? उल्फाको धन फूपुको श्राद्ध भनेको यही हो ।
चटौत पत्नीले सिंगापुर त गइन् किनभने त्यो बेलासम्म सम्झौता भइसकेको थिएन । जब सम्झौता भयो, चटौतको भागमा जम्मा पाँच लाख प¥यो । कमिशनवापत ३८ करोड ल्याइयो, तर विभागीय मन्त्रीले पाए जम्मा पाँच लाख । सबैभन्दा बढी बदनामी चटौतको भयो, अख्तियार पनि धाउनुप¥यो । तर उनको पारिवारिक स्रोतको भनाइ छ, छोरी लतालाई भारतको बैंगलोरस्थित डेण्टल कलेजमा भर्ना गर्न पनि चटौतलाई मुश्किल परेको थियो ।
चटौतको त विजोग नै भयो, ३८ करोडको अधिकांश हिस्सा सुजाताकै पोल्टामा गयो । यो पनि हावादारी तथ्य होइन, लाउडाकाण्डमा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ अनियमिता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
एमाले पनि के कम ?
नेवानिभित्रको भ्रष्टाचारको कथा यति लामो छ, जसको बयान गर्न हजार जिब्रा भएका शेषनागलाई पनि गाह्रो पर्छ । नेवानिलाई ब्रह्मनालमा पु¥याउने पञ्चायत मात्र होइन, कांग्रेसको परिवार मात्र होइन । एमालेबाट मन्त्री भएका भीम रावल र मालेका यामलाल कँडेलको समयमा पनि नेवानिमा भ्रष्टाचार विवाद भयो । विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । केही मुद्दा थाती राखिएको छ, केही मुद्दामा तत्कालीन मन्त्री र नेवानिका अधिकारीले सफाइ पाइसकेका छन् ।
अख्तियारले सफाइ दिए पनि जनताले भने सफाइ दिएका छैनन् ।
लाउडा काण्ड त २०५७ सालमा भएको हो, त्यसअघि नै भइसकेका थिए धमिजाकाण्ड र जहाज बिक्री काण्ड । यी विषयमा राजनीतिक दलहरुबीच थुप्रै विवाद भए । वामपन्थी दलहरुले सडक आन्दोलन नै गरे, सदनका बैठक अवरुद्ध पारे । मुख्य विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले धमिजा काण्डलाई चुनावी एजेन्डा नै बनाए । भ्रष्टाचारीलाई कारबाही गर्न कसम पनि खाए जनतासँग । २०५१ मा एमालेले चुनाव पनि जित्यो । तर धमिजा र जहाज बिक्री काण्डका भ्रष्टाचारीलाई कारबाही भएन । बरु, थपिए चेज एअर काण्ड र चाइना साउथवेष्ट काण्ड ।
२०५१ सालमा एमालेले ९ महिने सरकार चलायो । तर सरकारबाट हट्नासाथ तत्कालीन उपमहासचिव वामदेव गौतमको जिम्मेवारी पार्टीले फिर्ता माग्यो । यो विषयबाट सुरु भएको विवाद चर्किएर महाकाली सन्धिमा भयानक रुप लियो । जसका कारण एमाले विभाजित भयो । वामदेव गौतमको नेतृत्वको माले गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गयो । माले नेता यामलाल कँडेल बने पयर्टन तथा नागरिक उड्डयनमन्त्री । २०५५ साल असोजमा कांग्रेस र मालेको गठनबन्धन सरकार बनेको केही समयमै नेवानिमा अर्को बबण्डर मच्चियो । जसलाई नेवानिका कालो इतिहासमा चेज एयर काण्डका रुपमा चिनिन्छ । चेज एयर नामक अमेरिकी कम्पनीसँग निगमले विमान खरिद गर्न सम्झौता ग¥यो । विमान खरिद गर्न ५ लाख अमेरिकी डलर अर्थात् करिब साँढे ३ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो । तर, चेज एयर फर्जी कम्पनी रहेछ । हुँँदै नभएको कम्पनीले कसरी पठाओस् विमान । काम गरिरहेका कम्पनी पनि विश्वसनीय हुन् कि होइनन् भनेर बुझ्नुपर्छ सरकारी अधिकारीहरुले । तर राष्ट्रिय सम्पत्तिको पैसा पठाउँदा जिम्मेवार बनेनन् मन्त्री र नेवानिका अधिकारीहरु । त्यो रकम पनि त्यतिकै खाडलमा गयो । यामलाल कँडेल पर्यटनमन्त्री थिए भने नेवानिका महाप्रबन्धक थिए, हङकङ राना मगर । ठगी गरेको आरोपमा चेज एयरका सञ्चालक भनिएका शुशील उइन्टरविरुद्ध नेपाल सरकारले अमेरिकी अदालतमा मुद्दा त हाल्यो । तर २ करोडबाहेक उठाउन सकेन । नेकपा एमाले र माले टुक्रिएकाले पनि एमालेले चेज एयर काण्डलाई निकै उचाल्यो । सडकदेखि सदनसम्म जताततै नाराबाजी भए । तीव्र विवाद भएपछि तत्कालीन महाप्रबन्धक हङकङ रानामगर, निर्देशकद्वय अच्युत गौतम र गजेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता ग¥यो । गौतम र श्रेष्ठलाई अख्तियारले सफाइ दिएको छ ।
मालेका मन्त्रीले भ्रष्टाचार गरे भनेर एमालेले चर्को विरोध ग¥यो । विवाद बढ्दै जाँदा माले सरकारबाट बाहिरियो, एमाले भित्रियो । एमालेबाट पयर्टनमन्त्री बने, भीम रावल । अनि कथा बन्यो, चाइना साउथवेस्ट काण्डको । २०५५ सालको मंसिरमा कांग्रेस र एमालेको संयुक्त सरकार बन्यो । कांग्रेस र मालेले निगम डुबाए भन्दै सदनदेखि सडक तताउने नेकपा एमालेबाट पर्यटनमन्त्री बनाइएका भीम रावल चाइना साउथवेष्ट काण्डमा मुछिए । नयाँ मन्त्री आउनासाथ नयाँ जहाज भाडामा लिने त परम्परा नै बनेको थियो त्यतिबेला । नेवानिले एउटा प्रस्ताव पाएको थियो प्रतिघण्टा  ३८ सय डलरका भाडामा । तर नेवानिले चाइना साउथवेष्टसँग जहाज भाडामा लिने निर्णय ग¥यो जसको भाडा थियो ३३ सय डलर प्रतिघण्टा । नेवानिलाई हरेक घण्टा पाँच सय डलर अर्थात् ३५ हजार घाटामा पार्ने निर्णय भयो जानाजान । यसका मुख्य आरोपी पर्यटनमन्त्री  रावल । जहाज भाडामा लिँदा अनियमितता भएको ठहर गर्दै सार्वजनिक लेखा समितिले रावलविरुद्ध कारबाही अगाडि बढाएपछि सिंगो एमाले विवादमा तानियो । विवाद बढेपछि रावलले एमालेको केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिए ।
चाइना साउथवेष्ट काण्डसम्बन्धी मुद्दा अख्तियारसम्म पुग्यो । अख्तियारले १० महिना लगातार अनुसन्धान ग¥यो । तर पछि अख्तियारले सफाइ दियो रावललाई ।
अख्तियारले सफाइ दियो तत्कालीन मन्त्री रावललाई । सफाइ त लाउडा काण्डका तारणीदत्त चटौतलाई पनि दियो । भ्रष्टाचारको अभियोगमा अधिकांश आरोपीले सफाइ पाएका छन् । जनता भन्छन्, लाउडा, चेज र चाइना साउथवेष्ट पनि यसैका उदाहरण हुन् ।
ज्ञानेन्द्रले पनि लुछे नेवानि
अचम्मै गरे नेताजीहरुले, अचम्मै गरे नेवानिका अधिकारीहरुले । कम्पनी सक्कली हो कि नक्कली हो भन्ने बुझ्दै नबुझी करोडौं रुपैयाँ पठाए । जनताको पैसा हो, कसलाई के मतलब ? ढुकुटीबाट उठाए पैसो, पठाए अमेरिका । पैसा विमान आउने कम्पनीमा होइन, खाडलमा गयो । अनि २८ सय डलर प्रतिघण्टामा भाडामा पाइन्थ्यो विमान, ३३ तिरे । जनताका प्रतिनिधिले त राष्ट्रिय सम्पत्तिमा धुलो उडाए भने परम्परागत शक्ति बोकेका तत्कालीन राजाले किन छाड्थे ?
अहिले पो पूर्वराजा भए उनी, केही वर्षअघिसम्म त उनको हुकुम चल्थ्यो । देश उनकै हुकुममा चलेको थियो भने एउटा नेवानिको के कुरा ? उनले पनि नेवानिको घोडा चढे, धोको फेरेर । प्रत्यक्ष शासनका क्रममा ज्ञानेन्द्र नेवानिको बोइङ लिएर अफ्रिका गए, शयर गर्न । एक्ला ज्ञानेन्द्र र उनकी जीवनसंगीनीलाई बोकेर नेवानिको जहाज अफ्रिकातिर बरालियो । एक दिन बन्द हुँदा नेवानिलाई करोडौं घाटा हुन्छ, तर ज्ञानेन्द्रलाई यसको के पर्वाह । उनी एक दिन होइन, दुई दिन होइन, २३ दिनसम्म नेवानिको बोइङ जहाजमा घुमे । यता नेवानिका नियमित उडान स्थगित भइरहे, उता ज्ञानेन्द्रको मोज चलिरह्यो ।
त्यतिबेलाको सबै खर्च पनि निगमलाई नै व्यहोर्न बाध्य पारियो । २०६२ साल कात्तिक २३ गतेदेखि मंसिर १४ गतेसम्म अर्थात् २३ दिनसम्म बोइङ नचल्दा निगमलाई करोडौं नोक्सानी भयो । हवाई इन्धन पनि नेवानिले नै ति¥यो । निगमले १ घण्टा बोइङ भाडामा दिँदा ११ हजार अमेरिकी डलर अर्थात् ७ लाख ७० हजार रुपैयाँ लिने गरेको छ । यो हिसाबले ४० अर्बभन्दा बढी घाटा लाग्यो, त्यो त डुब्योडुब्यो । जहाज उड्दा इन्धनबापतको ४ करोड ८७ लाख रुपैयाँ पनि नेवानिले नै बेहोर्नुप¥यो । नयाँ शासन व्यवस्था आएपछि निगमले इन्धनबापतको रकम उठाउन पहल गरेको छ, पूर्व राजासँग होइन, भ्रमण गराउने परराष्ट्र मन्त्रालयसँग । निगमले बक्यौता रकमका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको ग¥यै छ । परराष्ट्र र अर्थ मन्त्रालयले एकअर्कालाई देखाउँदै पन्छिने गरेका छन् । हुन त पञ्चायतकालमा पनि राजपरिवारले निगमको दुरुपयोग गरेकै हो । २०४६ सालपछि त्यो क्रम केही रोकिए पनि प्रत्यक्ष शासनकालमा फेरि पनि राजपरिवारले निगमको दुरुपयोग ग¥यो ।
जबजब निगम संकटमा पर्छ, तब सरकारले आयोग गठन गर्छ । आयोग बनाउनेबाहेक सरकारले वायु सेवा निगममा अहिलेसम्म केही गर्न सकेको छैन । ती आयोगका प्रतिवेदन पनि कार्यान्वयन भएनन् । दामोदर गौतमको संयोजकत्वमा बनेको होस् या डा. शंकर शर्माको संयोजकत्वमा बनेको आयोग । यिनीहरुले अनुसन्धान गर्ने र प्रतिवेदन बनाउनेबाहेक केही गर्न सकेनन् । कारबाही भएको छैन ।
निगमले अहिले आन्तरिक र बाह्य उडानमा निजी क्षेत्रका विमान सेवाहरुसँग कडा प्रतिस्पर्धा गर्नुपरेको छ । आन्तरिक उडानमा एकाधिकार जमाएको निगम अहिले प्रमुख शहरबाट विस्थापित भएको छ । विमान समयमा नउडाउने र सानो निहुँ पाउनासाथ उडान नै रद्द गर्ने प्रवत्ति निगममा हाबी भयो, जसको फाइदा उठाए निजी कम्पनीले । विराटनगर, पोखरा, सिमरा, भैरहवा, नेपालगञ्जजस्ता प्रमुख शहरमा निजी विमान सेवालाई सुम्पेर निगमका उडान यतिखेर बढी खर्च हुने र जोखिमपूर्ण पहाडी र हिमाली जिल्लामा सीमित भएको छ । बाह्य क्षेत्रमा प्रतिष्ठित विदेशी कम्पनीसँग कठोर प्रतिस्पर्धा गर्नुपरेको त छँदैछ, अहिले आएर स्वदेशी विमान सेवासँग झनै कठोर प्रतिस्पर्धा गर्नुपरेको छ । निगमको विश्वासको दायरा तल्लो स्तरमा झरेकोले यात्रुहरु स्वेच्छाले निगमको विमानमा यात्रा नगर्ने स्थिति छ । त्यति मात्र कहाँ हो र ? अहिले १९ वटा एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्छन् । स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय सेवामा पनि यसले निकै प्रतिस्पर्धा सामना गरिरहेको छ । २०४० को दशकदेखि नै थाई, इण्डियन र सिंगापुर एयरलाइन्ससँग निगमले प्रतिस्पर्धा गर्दै आएको छ ।  विभिन्न काममा सरकारी हस्तक्षेप त छँदैछ, निगमको आन्तरिक उडानको भाडा पनि सरकारले तोक्दै आएको छ । त्यसो त आन्तरिक उडानमा निगमले घाटा व्यहोर्दै आएको छ । जुन घाटा अन्तर्राष्ट्रिय उडानबाट पूर्ति हुँदै आएको छ ।
त्यसो त सरकारले दुर्गम क्षेत्र हवाई सेवा कोषसम्बन्धी नीति नबनाएको पनि होइन, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा निगमलाई बर्सेनि २० करोड रुपैयाँ घाटा भइरहेको छ ।
२०४६ सालपछि सरकारले निगमलाई सरकारले कत्ति पनि रकम दिएको छैन । बरु थरिथरिका शासकले थरिथरिका बहाना बनाएर लुटिरहेका छन् । आफूले भ्रष्टाचार गरेर नपुगेर मन्त्रीहरुले आफन्तहरुलाई पनि नेवानिको छालामा रजाइ गर्न लगाएका छन् ।
व्यवस्था र मन्त्री फेरिनासाथ मोज गर्ने चलन कहिल्यै घटेन । कहिले विमान किन्न भनेर भ्रष्टाचार भयो, कहिले विमान बेच्ने भनेर भ्रष्टाचार भयो, कहिले भाडामा लिने भनेर भ्रष्टाचार भयो । अब ती सबै कथाजस्ता भए । अब नेवानि न जहाज किन्न सक्छ, न भाडामा लिन सक्छ । नेवानि सेलाइसक्यो, तर भ्रष्टाचारीहरु सेलाएका छैनन् । त्यसैले अहिले इञ्जिन मर्मतका नाममा भ्रष्टाचार हुन थालेको छ । दिन यस्तो पनि आउनेछ, नेवानिका जहाजका कवाडीमा पनि भ्रष्टाचार हुनेछ ।
पञ्चायतको हुकुमी शासन हो्स या बहुदलपछि । या त राजाको शासन कालमा नै किन नहोस् । निगमको दुरुपयोग हुने क्रम कहिल्यै रोकिएन, न त अहिलेसम्म नै यो क्रम रोकिन सकेको छ । निगम यो अवस्थामा पुग्नुमा निगमका कर्मचारी नै मुख्य कारक रहेको विचार राख्नुहुन्छ, पूर्वपर्यटनमन्त्री रामहरि जोशी । मन्त्रीहरुलाई अनेक लोभलालच देखाएर निगमका कर्मचारीले भ्रष्टाचार गर्ने गरेको उहाँको ठोकुवा छ ।
हुन पनि निगम टाट पल्टन लाग्ने तर त्यसका कर्मचारी काठमाडांैमा नयाँ महल थपेको थप्यै गर्ने ? पूर्वमन्त्री जोशीले भनेझैं के निगमका कर्मचारी पनि यस कार्यमा संलग्न छन् त ? यो एउटा खोजीको विषय बनेको छ । कहिले विमान खरिद त कहिले भाडामा लिँदा विवादमा मुछिँदै आएको निगममा अहिले भने भएका पुरानो विमान मर्मतमा घोटाला हुँदै आएको स्रोतको दाबी छ ।
नेपाल वायु सेवा निगम, नेपालको राष्ट्रिय ध्वजाबाहक । तर नेवानिको नाम सुन्दा गर्व लाग्दैन हामीलाई । बरु दया लाग्छ । हजार होइन, लाख होइन, करोडौं करोड कमिशनमा गयो, भ्रष्टाचारमा डुब्यो । नेवानि मोटो हुँदा मोज गर्ने ठूलाबडा, नेवानि दुब्लाउँदा दया गर्ने सर्वसाधारण । हो, अहिले साँच्चै दुब्लाएको छ नेपाल वायु सेवा निगम । अस्तित्व नै संकटमा छ नेवानिको । तर अब नेवानिसँग धेरै शान छैन, सम्पत्ति पनि छैन । त्यसैले नेवानिका अधिकारीहरु बचेखुचेको सम्पत्ति बेचेर कवाडीमा कमिशन खाने चक्करमा नलागुन् । बरु पब्लिक प्राइभेट पार्टनरसीपका आधारमा नेवानीलाई अघि बढाउन । टाट पल्टिएको नेवानिले जीवन पायो भने निरश देशले पनि जीवन पाउला भनेर आशा गर्न सकिनेछ ।


स्रोत : बिश्वन्युज डटकम

2 Comments/ प्रतिक्रिया:

  • 3/16/2011

    Hamro Desh ma yestai Bhrastha haru le garda desh ko bikash navako ho, yiniharu laai ta jakna parcha jail ma.

  • 3/22/2015

    म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

Post a Comment

सुझाव तथा टिप्पणी लेख्नुहोस

 
यो साइट अहिले सम्म Free Counter पटक हेरिएको छ ।