05 October, 2015

कालो कात्रो र नागरिक सर्वोच्चता


१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि युद्ध मानसिकता बाटै गुज्रिरहेको छ । संबिधानसभाको निर्वाचनमा नेपाली जनताले केही आश, केही त्रास र केही महत्वकांक्षाको आधारमा माओवादीलाई एकपटक भोट दिएका थिए । तर उसले सोच्यो नेपाली जनताले हामीलाई त सधैको लागि राज्यसत्ता कब्जा गर्ने लाइसेन्स प्रदान गरे । तर उसले यो भने सोच्न सकेन लाइसेन्सको बैधानिकता संबिधानसभामा कति सिट भयो भने हुन्छ भनेर । संयुक्त सरकार हुँदा हुँदै पनि एकल ढंगले मनपरि तरिकाले एक्लै निर्णय गर्ने, पेलेर लैजाने नीतिकै कारणले माओवादी सरकार ढल्यो । तर सरकार कसैले नढालेको भएर उसको आफ्नै बुद्धीले गर्दा ढलेको थियो । आवेशमा आएर सत्ता छोड्ने अनी अहिले सडकमा आएर कालो कात्रो देखाएर नागरिक सर्वोच्चताको माला जप्ने ?
अनि उसले भन्ने गरेको नागरिक सर्वोच्चताको अर्थ के हो भेउ पाउन पनि बढो गाह्रो भइरहेको छ । सत्ता छोड्ने बित्तिकै राष्ट्रपतिको असंबैधानिक कदम सच्चिनु पर्छ भनेर चिच्याउन सुरु गरेका माओवादी अहिले आएर नागरिक सर्वोच्चताको परिभाषा माओवादी सर्वोच्चता हो भन्ने सम्म पुगेको छ । यो कठपुतली सरकार बढी टिके एक महिना टिक्ला भनेर पात्रो हेरेर बसेका माओवादीका उपाध्यक्ष बाबुराम भट्टराइलाइ सरकार यती लामो समय सम्म टिकेकाले हनहनी जरो आउनु पनि स्वभाविक नै हो । त्यसैले त उनी अचेल भन्दैछन् यो कठपुतली सरकारको आयु तिहार पछी सकिदैछ अनी माओवादीको नेतृत्वमा नया सरकार बन्छ । त्यसो पनि हुन नसके महान जनआन्दोलनको धक्काले यो सरकार बढारिन्छ ।
कुरो सुन्दा पनि कन्सीरीका रौ नै तातेर आउछ भन्या, त्यती लामो समय सम्म बाहिर बसेर पढेर डाक्टर साबको उपाधी भिरेर आएका बरिष्ठ भनेर उपनाम भिरेका नेतका कुरा सुन्दा । माधव नेपालेले चुनाव हारेका भनेर माओवादीलाइ मात्र थहा भएको हो र सारा जगतलाई नै थहा छ नी, अनी तिनै माधव नेपाल नभई नेपालमा संबिधान नै नबन्ने भयो भनेर सबै भन्दा बढी पिर माओवादीलाई नै भएको थियो । माधव नेपाल सामु लम्पसार परेर लौन प्रभु हजुर मनोनित सभासद् बनिदिनु पर्यो,त्यतीले मात्र नभएर संबैधानिक समितिको सभापति नै बनिदिनु पर्यो भनेर हारघुहार गरेपछी माधव नेपाल सभासद् बनेका कुरा माओवादीलाई मात्र थहा नभएर सारा जगतलाइ नै थहा छ । तर आज त्यही माओवादी हरुवाका हरुवा भनेर चिच्याएको चिच्याइ छ । कुरो बुझ्न कठिन भइरहको छ । फेरी माधव नेपाललाई हटाउन किन यतीका बिधि महाभारत रचिरहनु पर्यो भन्या ३०१ जनाको बहुमत पुर्याएर देखाए त माधव नेपाल त स्वत बाहिरिन्छन् नी। किन आन्दोलन गरिरहनु पर्यो अनी किन कालो कपडा देखाइरहनु पर्यो जसलाई माओवादीले झण्डाको उपनाम दिइरहेको छ । अनी त्यस माथी माधव नेपाल यही देशको संबिधान कानुन अनुसार नै सभासद् बनेका थिए, अनी अर्को कुरा यो देशमा मनोनित सभासद् नियुक्तीको श्रीगणेश कसले गर्यो ? जंगलबाट शान्ति प्रक्रियामा आउने बित्तिकै टिके सांसद टिके मन्त्रीको पगरी भिर्न कसलाई बढी हतारो भएको थियो ? त्यसको बिश्लेषण त नेपाली जनताले अवश्य नै गर्नेछन् । अन्तरिम संबिधान अनुसार नै चुनावमा भाग नलिएका व्यक्ति पनि सरकारमा जान पाउने व्यवस्था छ । त्यसै अनु्रुप नै अहिलेका केही मन्त्रीहरु संबिधानसभा भन्दा बाहिरका पनि छन् । फेरी अर्को कानुन पनि त छैन् हामी नया संबिधान बनाउने क्रममा छौ । भावी बन्ने संबिधानमा लेखिने नै छ राज्य सञ्चालन प्रणाली कस्तो हुने भनेर ? किन यतीका बिधि कोकोहोलो मच्चाइरहनु पर्यो ?
अनी राष्ट्रपतिको असंबैधानिक कदम सच्चिनु पर्छ भनको चाँही के हो ?यसबारेमा पनि माओवादीले स्पष्ट पार्न सक्नुपर्छ फेरी कुलबहादुर खड्कालाई नै प्रधानसेनापति बनाउनुपर्छ भनेको हो की के हो ? माओवादीले सत्तो सराप गर्ने कटुवाल पनि उमेर हदले बिदावारी भइसकेका छन् । अनी माओवादीकै परमप्रभु कुलबहादुर खड्का कटुवाल भन्दा पनि अगाडी नै बिदा भएका थिए । अब फेरी माओवादी उही पुरानै कुरा गरेर जनतालाई बेवकुफ बनाउने काममा अघी बढीरहेको छ । यसले माओवादी इतरका सबैलाई चिन्तित बनाएको छ नै देश झन बर्बादीको खाडल तर्फ जाकिदै छ । संसदबाट बजेट पास हुन सकेको छैन् यसमा पनि माओवादीले बाझो हालिरहेको छ । नागरिक सर्वोच्चताको नाममा उसको आफ्नो सर्वोच्चतालाई स्थापित गर्न उसले नियमित संसद अवरुद्ध पारिरहेको छ । उसले अहिले केही देखेको छैन् देखेको छ मात्र सत्ता अर्थात कसरी हुन्छ सत्तामा जाने कसरी हाली मुहाली गर्ने ? यसको लागि उसले जस्तोसुकै हर्कत गर्न पनि पछी पर्नेवाला छैन् । उ घरी सुजातालाई प्रधानमन्त्री बनाउछु भन्छ, कहिले गिरिजा प्रसादलाई त कहिले हाम्रै नेतृत्वमा सरकार बन्छ भन्दै हिड्छ भने कहिले माओवादीकै सुप्रिम कमाण्डर प्रचण्ड महोदय सप्ताहको प्रसाद खान शाहीकालिन मुख्यसचिव लोकमान सिंह कार्कीकँहा पुग्छन् । कहिले राजनीतिक्र सल्लाहकारमा शाही शासनकालका र पञ्चायती छोटे राजाहरु रमेशनाथ पाण्डे, हिराबहादुर थापा, सुर्यबहादुर सेन लगायतलाई आफ्नै पार्टीमा नियुक्त गर्छन् । यसले माओवादी कस्तो खालको पार्टी हो भनेर उसको चरित्रलाइ उदाङ्गो पारिदिएको छ ।
अनी नागकि सर्वोच्चतालाइ माओवादीले आफ्नै हिसाबले बंग्याउदै पनि लगिरहेको छ । जनआन्दोलनका दोषीहरुसँग अंकमाल गर्दै रामहरी श्रेष्ठ, बिरेन्द्र साह लगायतका व्यक्तीहरुको हत्या गर्ने हत्याराहरुलाई पार्टी भित्र प्रमोशन गर्ने काम पनि माओवादीले नै गरिरहेको छ । यो कस्तो नागरिक सवोच्चता हो माओवादीले बुझाउन सक्नुपर्छ ।
जे हुनु भयो अब कसरी अघी बढ्ने भनेर माओवादी लगायतका अन्य दलहरु मिल्नुको कुनै बिकल्प छैन् यदी राष्ट्रलाई सही निकास दिने हो भने । होइन् भने देश बर्बादीको खाडलमा अवश्य नै जाकिनेछ । यसले सबैभन्दा बढी घाटा माओवादीलाई हुनेछ,यो कुरा उसले बुझ्न आवश्यक छ ।
(ब्लगर न्यौपाने इन्फोरविन्द्रका ब्लगर हुन ) 

26 February, 2012

सुशासन र यसको महत्व

Rabindra Neupane
बिकासन्मोख राष्ट्रहरुको करिब तिन चार सय बर्षको इतिहास पढ्ने हो भने अतीतमा शासकहरूले राष्ट्रको भौगोलिक सीमा विस्तार गर्ने र शक्ति सञ्चय गर्ने कार्यलाई विशेष प्राथमिकता दिईएको पाईन्छ । त्यसैले त्यस समयका शासकहरूले आफ्नो मुख्य कार्य राजस्व संकलन, राज्य विस्तार र शान्ति सुरक्षा वनाएका थिए । प्रकृतिक स्रोतको प्रचुर बाहुल्यता एकातर्फ र अर्को तर्फ सीमित जनसंख्याको कारण सरकारले आम जनताका लागि धेरै कार्य गर्नु पर्दैन थियो । त्यस समयमा सरकार र जनता विचको दुरी यथेष्ठ पाईन्थ्यो । किनभने यथार्थमा सरकारले आम जनताका लागि विकास कार्य सञ्चालन गरेकै थिएन ।

विकास र प्रविधिको विकास क्रमले गर्दा राज्यले नयाँ ढंगले काम गर्नुपर्ने स्थिति श्रृजना गरायो । अतितमा जसरी सरकारको कार्यक्षेत्र तोकिएको थियो त्यसको तुलनामा वर्तमान समयमा सरकारले विकास निर्माण कार्यका लागि अवलम्वन गर्नुपर्ने रणनीति र शैलीमा आमुल परिवर्तन आएको छ । सरकारको कार्यक्षेत्र राजश्व संकलन र शान्ति सुरक्षामा मात्र सीमित नगरी विकास कार्य समेत तोकियो तर सम्पूर्ण विकास कार्य सरकार एक्लैले सञ्चालन गर्न सम्भव देखिएन । विकेन्द्रिकरण, जनसहभागिता, स्थानीय सरकार, नीजिकरण, आर्थिक उदारीकरणबारे थप चर्चा परिचर्चा गरिन लागेको हो ।

सन् १९९६ मा संयुक्त राष्ट्र« संघको तत्वाधानमा सञ्चालन गरिएको मानव वसोवास सम्बन्धी सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रमा सुशासन बारे चर्चा गरिएको पाईन्छ । त्यसपछि सुशासनलाई झनै महत्व दिईयो । यथार्थमा सुशासन भन्नाले सरकारी निकायका साथै संवैधानिक अङ्ग, स्थानिय सरकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संगठन र नीजिस्तरको संयुक्त पहलमा सम्पादन गर्ने कार्य हो । विकास निर्माण कार्यमा सरकारी निकायका साथै अन्य निकायले समेत प्रत्यक्ष परोक्ष सहयोग नपुयाएमा लक्ष्य हासील गर्न सकिन्न त्यसैले चाहे त्यो जनश्रमदानको विषय होस् वा अन्य कुनै गतिविधि नै किन नहोस त्यसलाई सुशासनको सीमाक्षेत्र भित्र राखिएको छ । विदेशी ऋण सहयोग दिएर दातृ राष्ट्र र संस्थाले सहयोग पुर्याई  रहेका हुन्छन् । त्यसैगरी देशमा रहेका विभिन्न गैरसरकारी संस्था तथा अन्य सामाजिक संघ संस्थाहरूले आफूले सम्पादन गर्नु पर्ने कार्यहरू अन्य सरोकारवालाहरू  सँगै आवश्यक समन्वय गरी अगाडि बढ्नु पर्ने जरुरी हुन्छ । संक्षेपमा भन्नु पर्दा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका साथै अन्य संघसंस्था सरोकारवालाहरूको संयुक्त प्रयासबाट आम जनतालाई पुर्याईने निष्पक्ष छिटो छरितो र सुलभ सेवा नै सुशासन हो । अर्थात साझा लक्ष्य प्राप्तिका लागि सक्षम नेतृत्व तथा सामुहिक प्रयत्नद्वारा विधिवत रुपमा स्वशासित हुदै समाजको विकासको लागि गरिने सहजीकरणको प्रक्रियालाई वुभाँउदछ । सुशासनका आधारभूत स्तम्भका रुपमा प्रभावकारीता, जवाफदेहिता, पारदर्शिता, सहभागिता र समता लाई लिईन्छ । त्यसको अलावा राजनीतिक स्थीरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, विकेन्द्रिकरण, कानुनी राज्यलाई पनी सुशासनका विशेषताका रुपमा लिईन्छ । तर कतिपय दृश्य अदृश्य कारणले गर्दा सुशासनको कार्यान्वयन वान्छित रुपले अगाडि वढ्न सकिरहेको पाईदैन ।

सुशासनको महत्वपूर्ण प्रश्न जनसहभागिता हो कसरी जनतालाई बिकास निर्माण कार्यमा सहभागी तुल्याउने भन्ने वारे विशेष ध्यान दिन जरुरी हुन्छ । सरकार तथा  सुशासनको अर्को पक्ष पारदर्शिता हो । संघ संस्थाहरू सञ्चालन गरेको विभिन्न कार्यक्रमहरू त्यसको आर्थिक स्रोत, खर्चको वाँडफाँड लगायत राष्ट्रिय महत्वका विषयको जानकारी आम नागरीकलाई गराईनु पर्दछ । त्यसै गरी सुशासनको अर्को विशेषता प्रभावकारीता पनि हो, सरकारले सामाजिक संघ संस्थाले दिर्घकालीन, सोच ध्येय लक्ष्य र उदेश्य अनुरुप कार्य गरेर, वित्तिय मानव स्रोत तथा व्यवस्थापकका निती नियमहरू लागु गरेर संस्थागत जिम्मेवारीलाई साझा जिम्मेवारी वनाएर अगाडी वढेमा प्रभावकारीता आउन सक्छ । सुशासनको अर्को विशेषता सहभागीता हो सवै वर्ग र समुदायको क्षेत्रीय, जातिय, लिड्डिय र वर्गीय विशेषताका आधारमा समानुपातिक प्रतिनिधित्व नीति लागु गरेमा मात्र सहभागिता हुनसक्छ ।


यी कार्यमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू, सामाजिक संघ संस्थाहरू  र प्रत्येक सचेत नागरिकले बिकास निर्माण प्रति आफ्नो दायित्व वोध गरी लक्ष्य प्राप्तिमा सक्दो सहयोग जुटाउनु आवश्यक छ । त्यसैले सुशासन को अवधारणालाई नौलो सिद्धान्तका रुपमा नलिई यसलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर विशेष ध्यान दिन जरुरी हुन्छ । 
  
(गैरसरकारी स‌ंस्था महासंघ नेपाल मकवानपुर शाखाबाट प्रकाशित स्मारिका मकवानपुर सन्देशमा प्रकाशित ।)

22 October, 2011

कुष्माण्डमा नवमी मेला लाग्ने

आउँदो कात्तिक १८ गते हेटौँडाको कुष्माण्न्ड सरोवर त्रिवेणी धाममा मेला लाग्ने भएको छ । त्रिवेणीधाममा कुष्मान्ड नवमी मेला तयारीबारे कुष्मान्ड सरोवर त्रिवेणीधाम विकास समितिले मकवानपुरका सरोकारवालाहरुसँग अन्तरकि्रया पनि गरेको छ । समितिले जिल्ला विकास समिति मकवानपुर हेटौँडा नगरपालिकाका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश बिष्ट, नगरपालिकाका कार्यकारी अधिकृत लालमणि ओझा, नेकपा एमालेका अनन्त पौडेल, काङ्ग्रेसका माइकल रामचन्द्र अर्याललगायतको सहभागिता रहेको थियो । मेला साचालनका लागि धाम विकास समितिका अध्यक्ष इश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा ५ सय १ जना सदस्यीय मेला आयोजक मूल समिति गठन गरिएको छ । मेलामा मकवानपुर तथा छिमेकी जिल्लाहरुबाट करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
 

30 September, 2011

बिजयादशमीको शुभकामना


बिजयादशमीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । नवदुर्गा भवानीले हामी सबैको कल्याण गरुन ।

01 June, 2011

सहस्राब्दी विकासलक्ष्यमा रेमिटेन्समुखी उपलब्धि

Ramkumar Elan
संसारका विकासशील राष्ट्रहरूले सहस्राब्दी विकासलक्ष्य भनेर गरिबी निवारणका पक्षहरूलाई नै जोड दिएर प्रभाव पार्ने पक्षहरूमा काम गरिरहेका छन् । सन् २०१५ सम्ममा अहिलेको आँकडामा गरिबी आधा घटाउने र आफ्ना देशका नागरिकलाई समान पहुँचमा पु¥याउने लक्ष्य लिइएको छ । यसका लागि भोक र गरिबी हटाउने काम प्राथमिकतामा परेका छन् । यस्तै, सबैका लागि प्राथमिक शिक्षा, लैंगिक समानता र महिला सशक्तिकरण पनि छन् । नेपालमा पनि बालमृत्युदर घटाउने, मातृस्वास्थ्य सुधार गर्ने र एचआईभी र मलेरियाजन्य रोगबाट मुक्ति दिलाउने योजना छँदैछ । वातावरण संरक्षण र संस्थागत विकासका कुरा पनि छन् । यी सबै कामका लागि विश्वव्यापी साझेदारी सहस्राब्दी विकासलक्ष्यको अर्को पाटो हो ।
यी पक्षहरूमा नेपालमा काम भइरहेका छन् । खासगरी सन् २००६ यता मुलुकमा केही प्रगति भएको छ । नेपालमा अहिले पनि एक चौथाइ अर्थात् २५ प्रतिशत नागरिक गरिबीको रेखामुनि नै छन्, राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार दसौं योजनामा कायम ४२ प्रतिशत गरिबी अहिले २५ प्रतिशतमा झरेको छ । अति विपन्न गरिबहरूकोे जीविकोपार्जन र आयस्रोतको गतिलो र भरपर्दो व्यवस्था हुन सकेको छैन । सन् २००६ देखि अहिलेसम्मको अवस्थामा गरिबी निवारणमा थुप्रै कामहरू र उपलब्धि भएको तथ्यांकहरूले देखाएका छन् । खासगरी विभिन्न गैरसरकारी संस्थाहरूले आयआर्जनका कामलाई बढावा दिएर गरेको कार्यक्रमले पनि गरिबी निवारणमा मद्दत पुगेको छ । तैपनि गरिबी निवारणको भरपर्दो स्रोतको पहिचान हुन सकेको अवस्था छैन ।
गरिबीकै कारण शिक्षामा समान अवसरका अभाव देखिएको छ । शिक्षामा समान अवसर नहुँदा रोजगारीमा प्रभाव परेको छ, यसले नागरिकको पलायनता बढाएको छ । ग्रामीण भेगका लाखौँ बालबालिकालाई अहिले पनि विद्यालयसम्मको पहुँचमा पुग्न निकै समस्या बनेको छ । पायक पर्ने स्थानमा विद्यालयहरू नहुनु र विद्यालयसम्म बालबालिका नपुग्नु शिक्षामा चुनौती बनेको छ । यसले शिक्षा र रोजगारीसँगै गरिबी निवारणमा ठूलो असर परेको अवस्था छ । अनि बाध्य भएर ऊर्जाशील उमेरमा आम्दानीको स्रोत खोज्दै युवाहरू बिदेसिने क्रम बढेको छ । रेमिटेन्सले मुलुक चलेको अवस्था छ । सन् २०१० को आँकडाले कुल जीडीपीको २३ प्रतिशत रेमिटेन्स आइरहेको जनाएको छ । यही रेमिटेन्स गरिबी निवारणको कामचचलाउ ओखती बनेको अवस्था छ भने अन्य स्वास्थ्य, शिक्षालगायत सामाजिक खर्च बढाउनमा पनि यसले योगदान गरिरहेको छ ।  
नेपालले शिक्षाको हकमा प्रगति नै हासिल गरेको तथ्यांकले देखाएको छ । सामाजिक संस्थाहरूले गरेको लगानी र राज्यले अपनाएको नीतिका कारण शिक्षा, समानता र पहुँचमा केही परिवर्तन भएका छन् । सन २००६ यता सहस्राब्दी विकासलक्ष्यमा प्रभाव पार्ने सूचकांकमा लैंगिक समानता, शिक्षामा बालबालिकाको पहुँच र प्राथमिक विद्यालयमा बालबालिकाको पहुँच बढेर गएको छ । तैपनि ग्रामीण भेगका बालबालिकालाई विद्यालय पठाउने काम निकै गाह्रो नै बनेको छ । नेपालमा २००६ मा बालमृत्युदर १ हजारमा १ सय ९ रहेकोमा अहिले ४१ मा झरेको छ । पाँच वर्षमुनिकाहरूको मृत्युदर पनि १९९० को तुलनामा घटेर १६२ बाट ५० मा झरेको छ । १ लाख आमाहरूमध्ये बच्चा जन्माउँदा ८५० मर्थे । मातृ मृत्युदर सन् २०१० मा २ सय २९ मा झार्ने योजना पनि सफल भएको छ । यति हुँदाहुँदै पनि गरिबीकै कारण अझै नेपालमा पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिकाको तौल उमेरअनुसार छैन ।
सन् २०१५ सम्ममा नेपालमा सबैका लागि शिक्षा, शौचालयको सुविधा पु¥याउने काममा सरकारसँगै सामाजिक संस्थाहरूले पनि हातेमालो गरिरहेकै छन् ।
शिक्षा, सहभागिता र लक्ष्यका अन्य पाटोहरूमा काम भए पनि त्यसले रोजगारी र अवसरका सिर्जना गर्छ कि गर्दैन भनेर चिन्तन गर्नु जरुरी छ । शिक्षा प्राविधिक हुनु जरुरी छ । समयसापेक्ष शिक्षाको आवश्यकताबारे राज्यको नीति बन्नु जरुरी छ । यतिखेर सन् २०१५ सम्ममा सबैलाई शिक्षा भनेर राज्यले विद्यालय जाने अवसरको व्यवस्थामा समय फालेको छ, तर शिक्षा अब नेपालमै रोजगारी दिन सक्ने पनि हुनु जरुरी छ । शिक्षामा सहभागिता अवसरसँग जोडेर हेर्ने नजरको विकास हुन सकेमात्र सबैलाई शिक्षाको पहुँचमा पु¥याउँदा गरिबी निवारण र भोकबाट मुक्तिको पाटो पनि हल हुने अवस्था बन्छ । नेपालको शिक्षालाई गरिबी निवारणको पाटोमा जोड्नका लागि भूगोल र समय सुहाउँदा पाठ्यक्रमबारे पनि अब बहस हुनु जरुरी छ ।
महिलालाई समान सहभागिताका लागि नेपालमा राम्रा कामहरू भएका छन् । खासगरी संविधानसभामै ३३ प्रतिशत महिला सहभागिता लागू भएपछि पछिल्लो पटक हरेक तहमा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । समाजमा महिला सहभागिताको समन्वयका कारण धेरै उन्नति र प्रगतिका काम भएका छन् । खासगरी महिला सहभागिताले आर्थिक पाटोलाई जोडेको छ । गाउँगाउँमा सहकारीहरू खुलेका छन् । तिनले ल्याएको परिवर्तनले एकसाथ धेरै क्षेत्रमा अपेक्षित सफलता हासिल भएका छन् । निर्णायक तहमा महिलालाई पु¥याउँदा भएका विकास र परिवर्तनले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल एक हदमा सफलताको साँचो नै बनेको छ । सबै क्षेत्रमा महिलाहरूलाई यसरी समान ढंगले बढाउन सकिएमा स्वतः यसलाई प्रभाव पार्ने तत्वहरू भोक, गरिबी, बालमृत्युदर, मातृ मृत्युदर, शिक्षामा पहुँच, एचआईभी संक्रमणको पाटोमा पनि सहयोग पुग्ने अवस्था छ ।
सहस्राब्दी विकासलक्ष्यका लागि सामाजिक संस्थाहरूले नेपालमा निकै राम्रा काम गरेका छन् । पछिल्लो समय सहस्राब्दी विकास लक्ष्यमा उनीहरूले महिला र बालमृत्युदर तथा महिला मृत्युदर घटाउन तथा शिक्षा र पहुँचमा महिला सहभागितालाई जोड दिएका छन् । यस्तै, गरिबी निवारणका पाटोमा पनि काम भएको छ । सहस्राब्दी विकासलक्ष्यअन्तर्गत मध्यनेपालको मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा गरिबी निवारणका लागि राज्य, दातृनिकाय र सामाजिक संस्थाहरूले गरेको प्रयास सफल पनि बन्दै गएको देखिएको छ । मकवानपुर, चितवन, सिन्धुली, धादिङ, काभ्रे, रसुवा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोटलगायतका पहाडी जिल्लाका विभिन्न जनजातिका लागि सहस्राब्दी विकास लक्षित कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन् । यस्तै बारा, पर्सा, धनुषा, रौतहट, सर्लाही, महोत्तरीलगायतका तराईका भेगमा पनि सहस्राब्दी विकासलक्ष्यका कामहरू भएका छन् । तराईमा पछिल्लो समय सल्किएको हिंसात्मक आन्दोलनले त्यस भेगमा काम गर्न कठिनाइ भएको सामाजिक कार्यकर्ताहरूको भनाइ पनि छ, तर राज्यको कमजोर उपस्थितिमा पनि सामाजिक संस्थाहरूले तराईका जिल्लामा महिलासँग जोडिएका पाटोमा नै विभिन्न कार्यक्रम गरेका छन् ।
सामाजिक संस्थाहरूले गरेका कामहरूको उपलब्धि न्यून संख्याको जोडिएको छ । नमुना मानेर केही गाउँमा गरिएका कार्यक्रमले जिल्लाका सबै क्षेत्रलाई समेट्न नसकेको अवस्था छ । अतः सफल देखिएका कार्यक्रमहरूलाई विस्तार गरेर लैजान पनि दातृसंस्थाहरूले सहयोग गर्नुपर्ने देखिएको छ भने राज्यले पनि सफल बनेका यस्ता कार्यक्रमहरूलाई साथ दिनु जरुरी देखिएको छ । मकवानपुरको चेपाङ हुन्, धादिङका तमाङ परिवार— उनीहरूको आर्थिक विकासको सूचकांकका लागि सामाजिक संस्थाले गरेको कार्यलाई प्रवद्र्धन गर्न सकिए पक्कै पनि लक्षित वर्गमा पुगेका कार्यक्रमहरूले सफलता पाउने थियो । खासमा रेमिटेन्सका भरमा मुलुक चलेको अवस्थाबाट मुलुकलाई परिवर्तन गर्न सहस्राब्दी विकासलक्ष्यका पाटोहरूमा काम गर्दा रोजगारीको अवसरलाई पनि जोडेर हेर्नु जरुरी छ । मुलुकमै रोजगारीको अवसर पाउने कार्यक्रमहरूले स्वतः एचआइभी नियन्त्रण गर्छ । विकासलक्ष्य हासिल गर्नका लागि सामाजिक क्षेत्रमा सरकारको लगानी बढाउनु आवश्यक छ, यो प्रयासमा सामुदायिक संस्थाहरूलाई साझेदारका रूपमा परिचालन गर्न सके धेरै उपलब्धि हासिल हुनसक्छ भन्ने कुराका दर्जनौं उदाहरण भेटिन्छन् । विशेषगरी राज्य पुग्न नसकेका ठाउँमा आयमूलकसँगै सशक्तीकरणका कार्यक्रम सञ्चालन हुँदा त्यसले लक्षित उपलब्धि हासिल भएका छन् । यदि प्रभावकारी विकास कार्यक्रम सञ्चालन गर्ने हो भने स्थानीय तहमै रोजगारीका अवसर सिर्जना हुन्छन् । आयमूलक गतिविधि बढ्नाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने खर्च बढाउँछ । समग्रमा रेमिटेन्समा आश्रित हुनुपर्ने अवस्थाबाट उन्मुक्ति मिल्छ । 

rkrijal.elan@gmail.com

15 March, 2011

जेलमा जाकिनु पर्नेहरु



नेपाल वायु सेवा निगम अर्थात् नेपालको राष्ट्रिय ध्वाजावाहक वायु सेवा निगम । त्यतिले मात्र परिचय खुल्दैन । जुन व्यवस्था आयो त्यसैको कमाई खाने अड्डा, जसको सरकार बन्यो उसैको रजाई गर्ने थलो बन्दै आएको छ नेवानि । पञ्चायतमा राजाका आसेपासेहरुले लुटे, बहुदलमा दलका नेताहरुले पालैपालो लुछे । अहिले त थला परेको छ नेवानि । पहिला पहिला जहाज किन्ने र भाडामा लिने नाममा लुटिन्थ्यो । तर लुट्नलाई केही बाँकी छैन, त्यसैले बचेखुचेका इञ्जिन बनाउन पनि कमिशनको खेल हुन थालेको छ । यही अवस्था हो भने नेवानि केही समयमै बन्द हुनेछ । लाग्छ नेवानि बन्दै भए पनि कमिशनको खेल रोकिनेछैन, जहाजका अस्थिपञ्जर कवाडीमा बेच्न पनि मारामार हुनेछ ।

08 March, 2011

सलाम छ अमिता

तस्विर साभारमाधवनेपालडटकम

६० वर्षको उमेर पारगरीसकेको अवस्थामा २० वर्षकी नवयौवनालाइ सहयोगीको रुपमा राखेका कृष्णप्रसाद भट्टराई र अमिता कपालीको सम्बन्धबारे धेरैले यस्तो टिप्पणि गरेको सुनिनथ्यो। भट्टराईलाई यौन आशक्त बृद्धको रुपमा चर्चा गरिन्थ्यो भने कपालीलाई शक्तिका लागी बृद्धको पछाडि लागेकी लहडी केटीको रुपमा। यि दुबैकालाई जोडेर बनाएका धेरै किस्साहरु किस्साहरु कुनै जमानामा शहरमा खुब चर्चामा थियो। सान्तावान्ताका जोक्स पिसहरुको शंसोधन गरी भट्टराई र कपालीबारे बनाईएका भद्दा जोक्सहरुको कमी थिएन।
भट्टराईसंग शक्ति र सत्ता भएसम्म मात्र कपाली उनीसित टासिनेछिन्, जव सन्त स्वभावका भट्टराई शक्तिहिन हुनेछन् अनी कपाली डेरा सरेर अर्कै पात्रको खोजीमा सक्रिय हुने विष्लेशणहरु पनि सुनिएकै हो। कपाली भट्टराईको अन्तिम स्वास रहेसम्म संगै रहेर शहरबजारमा उनी र भट्टराईलाई जोडेर गरिने टिप्पणि र विष्लेशण विकृत मानसिकताको उपज मात्र हो भन्ने पुष्टी गरिन।
सत्ता,शक्ति र सुखको अवस्थामा मात्र हैन , एक्लो र दुःखको अवस्थामा पनि निरन्तर साथ दिएर उनले अनुमानका इतिहासहरु भत्काईन। भट्टराईसंगको आफ्नो निकटता स्वार्थले भरिएको नभई निस्वार्थ रहेको व्यवहारले पुष्टी गरिन्।
भट्टराई र कपालीको सम्पर्क र सम्बन्ध कुन रुपमा कसरी भयो? एकिन जानकारी छैन। तर कांग्रेसीहरुवाट सुनिए अनुसार पद्मकन्या कलेजमा विद्यार्थी छंदा नेपाल विद्यार्थी संघवाट राजनीतिक यात्रा शुरुगर्नेक्रममा कपाली विभिन्न कांग्रेसी नेताहरुसंगको सम्पर्कहुदै भट्टराईसम्म पुगेकी हुन।



टिप्पणि अनुसार प्रारम्भमा कपाली र कांग्रेस नेता खुमबहादुर खड्काविच निकट सम्बन्ध थियो। विस्तारै उनी शरद्सिंह भन्डारीसित निकट भईन। अनी उनै भन्डारीले पछि कपालीलाई भट्टराईको सहयोगीको रुपमा काम गर्न अह्एका थिए।
जव कपाली र भट्टराईको भेट भयो, दुबैको उमेर नातीनि हजुरबा समान भईसकेको थियो। रसिक स्वभावका अविवाहीत भट्टराईसंग कपालीको सम्पर्क र सम्बन्धलाइ समाजले सहज रुपमा लिन भने सकेन। दुबैको सम्बन्धलाई समाजले यौनकै ऐनाले हेरेर किस्साहरु बनाएको थियो।



अविवाहीत भट्टराईको सहयोगीहुंदैमा अविवाहितनै हुनुपर्छ भन्ने छैन। एकल जीवन त्यागेर गृहस्थीमा प्रवेश गर्ने उनको पनि चाह थियो होला। भट्टराईको जीवनवाट प्रभावीत भएर होला या, गृहस्थको मोह नभएर हो, उनमा मोह देखिएन।


भट्टराई कांग्रेसभित्र शक्तिशाली हुदा र प्रधानमन्त्रीहुदा उनले शक्ति र शक्ताको दुरुपयोग गरेका चर्चाहरु पनि सुनिएको थियो। जव भट्टराई कांग्रेसवाट विस्तारै टाढिदै गए त्यसको कारक कपाली नै भएको कांग्रेसीहरु ने टिप्पणि गर्थे।

कपालीले भट्टराईको बुढ्यौलीको फाइदा उठाएर आफ्नो बसमा पारेर पार्टीका नेताहरुसंग दुरी बढाएको, भेट्न नदिने र आफु अनुकुल मात्र काम गर्न दिने गरेको टिप्पणिहरु पनि सुनिन्थ्यो। भट्टराईसँग सत्ता र त्यसले सृजना गरेको शक्ति थियो त्यतिबेला उनको वरिपरी नेता कार्यकर्ताको ठुलो झुण्ड हुन्थ्यो। कतिलाई भट्टराई लखेट्थे। तर जव सक्ता र शक्तिवाट भट्टराई टाढा भए भलाकुसारी गर्ने मित्रहरु समेत टाढाहुंदै गए। किशुनजी आराम भन्दै विहानै ढोका धाउनेहरु जता शक्ति थियो उतै लागिहाले।

सत्तामा होउन या नहोउन कपालीले भट्टराईको साथ छोडिनन्। सधै छायां बनिरहिन उनी। पार्टी राजनीतिवाट टाढाहुंदै गएका भट्टराई शारिरिक रुपमा समेत जव कमजोर बने, उनको साथमा हिजो यसो गरिदिनुपर्‍यो किशुनजी, उसो गरिदिनुपर्‍यो किशुनजी भन्दै जाने चाटुकारहरु थिएनन। सक्ता, शक्ति र शारिरिक रुपमा कमजोर भएको बेला सबैले गाली गर्ने तिनै कपाली भट्टराईको अभिन्न सहयोगीको रुपमा साथमै थिईन। अनी भट्टराईको अन्तिम क्षणसम्मपनि एक असल संगीको भुमिका निर्वाह गरेर शन्देस दिईनभट्टराई र मेरो सम्बन्धलाई भट्टीको गफ बनाउहरु झुटा हुन।

अविवाहीत भट्टराईको सहयोगीहुंदैमा अविवाहितनै हुनुपर्छ भन्ने छैन। एकल जीवन त्यागेर गृहस्थीमा प्रवेश गर्ने उनको पनि चाह थियो होला। भट्टराईको जीवनवाट प्रभावीत भएर होला या, गृहस्थको मोह नभएर हो, उनमा मोह देखिएन।
बाबु, काका, मामाको नाता जोडेर पार्टीमा प्रभावशाली बनेका नेताहरु कांग्रेसमा धेरै छन्। उनले चाहेको भए भट्टराईसंगको सम्पर्कको आधारमा आफुलाई पार्टी राजनीतिमा प्रभावशाली पदमा पुर्‍याउन सक्थिन पक्कै। तर, उनले भट्टराईलाई राजनीतिको भर्‍याङ बनाउन चाहिनन्। कांग्रेससंग उनको भावनात्मक सम्बन्ध हुनसक्छ। तर, उनी प्रत्यक्ष रुपमा पार्टी राजनीतिमा समेत रुची देखाईनन्। बरु उनी सन्यासतिर आर्कशित भईन।

न उनी जीवन विवाह बन्धनमै बाधिएक संगिनी हुन् न, नातागत रुपमा उनका आफन्त, या सरकारले पारिश्रमिक दिएर खटाएको कर्मचारी नै। रगतको सम्बन्धको आधारमा कुनै साइनो नै नभएपनि उनले अन्तिम समयसम्म सबै भुमिका निर्वाह गरिन भट्टराईका लागी। सस्ता टिप्पणिकी पात्र उनै कपाली आफ्नो अतुलनिय सेवाका कारण अहिले सबैमाझ सम्माननिय बनेकी छिन्। निस्वार्थ सेवाभावको अतुलनिय प्रर्दशनवाट सस्ता टिप्पणिकर्तामाझ सम्मानको भाव निर्माण गर्न सफल भएकी छिन्।

उनको सेवाभावलाई सलाम,




कालो कात्रो र नागरिक सर्वोच्चता

१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...